पोखरा सिर्जना पौडेल हत्याकाण्ड: सहोदर भान्जा र परियार पक्राउ
किन भयो हत्या ?
पाेखरा | चैत २७, २०८२
पोखरा: कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियार रहेका छन् ।
उनीहरुलाई आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
कास्की प्रहरीका प्रमुख एसपी नवीन कार्कीले मुख्य आरोपी सन्तोषलाई रुपन्देहीको बुटवल २ मनकामना टोलबाट र कुशललाई पोखराबाटै शुक्रबार पक्राउ गरेको बताए ।
उनका अनुसार पक्राउ परेका दुवैजनाविरुद्ध यसअघि विभिन्न कसुरमा मुद्धा चलेको थियो ।
मुख्य आरोपी सन्तोष अभद्र व्यवहार, चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न रहेको र कुशल लागुऔषध मुद्दामा कैद भोगिसकेका थिए ।
पक्राउ परेका मुख्य आरोपी मृतक सिर्जनाका सहोदर भान्जा भएको खुल्न आएको समेत एसपी कार्कीले बताए ।
किन भयो हत्या ?
प्रारम्भिक अनुसन्धानका अनुसार यो हत्या पारिवारिक बेमेल र सम्पत्तिको विवादका कारण भएको देखिएको एसपी कार्कीले बताए ।
मृतक सिर्जना ‘खसी किन्ने किस्ने’ नामले चिनिने कृष्ण क्षेत्रीकी दोस्रो श्रीमती थिइन् ।
कृष्णको जेठी श्रीमतीतर्फ १ छोरा र २ छोरी रहेका छन् । ३ वर्षअघि कृष्णको मृत्यु भएपछि एकल जीवन बिताइरहेकी सिर्जनासँग उनकी ४ वर्षकी छोरी रहेकी थिइन् ।
कास्की जिल्ला अदालतले बकसपत्र सम्बन्धी मुद्दामा सिर्जनाको पक्षमा फैसला गरिदिएपछि परिवारभित्र विवाद चुलिएको प्रहरीले बताइएको छ ।
यस्तो छ, घटनाक्रम
गत चैत २५ गते बुधबार बेलुकी करिब ७ बजे शिवालय चोक नजिकै सिर्जनालाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहारबाट सिर्जना पौडेल केसी गरी गम्भीर घाइते भइन् ।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा चिकित्सकले सोही दिन राति सवा ८ बजे मृत घोषणा गरेका थिए ।
मृतक सिर्जना पोखरा महानगरपालिका ५ जिरो किलोमिटर घर भई हाल वडा नम्बर १८ सेदी बस्दै आएकी थिइन् ।
मृतक सिर्जनालाई करिब १ महिनादेखि नै हत्या गर्ने योजनासहित शिशिरले रेकी गर्दै हिडेको एसपी कार्कीले बताए ।
‘बयानका क्रममा आफुलाई अवहेलना गर्ने गरेकै कारण शिशिरले इगो बोकेर बसेको देखिन्छ, एसपी कार्कीले भने, ‘त्यपछि शिशिरले १ महिनादेखि नै योजना बनाउँदै आएको र गत बुधबार बेलुकीदेखि खुडा नै बोरेर हत्या गर्ने तयारीसहित पछि लागेको प्रारम्भिक बयानमा भनेका छन् । थप कुरा खुल्दै जाला ।’
उनले मतियारका रुपमा देखिएका कुशल परियारलाई आफ्नो काम गरेबापत पैसा दिने भनेर घटनामा प्रयोग गरेको बयान दिएको एसपी कार्कीले बताए ।
‘यस घटनमा संलग्न भएपछि मतियार भैनैहाल्यो । अहिले बुझ्दा काम गर्न भनेर पैसा दिने सहमति भएको देखिन्छ । तर पारिवारिक बेमेल देखिदा परिवारबाट केही सुपारी दिएकी भन्ने बारे गहिरो अनुसन्धान थालेका छौं । अहिल्यै पुष्टि भइसकेको छैन ।’ एसपी कार्कीले भने ।
स्कुटर र खुँडा बरामद
कास्की प्रहरीले हत्यामा संलग्न व्यक्तिले अनुहारमा मास्क र हेलमेट लगाएर स्कुटरको नम्बर प्लेट समेत छोपेर आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ ।
साथै प्रहरीले घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा ७ मुस्ताङ चोकबाट बरामद गरेको छ ।
त्यस्तै, हत्यामा प्रयोग गरिएको रगत लागेको धारिलो हतियार (खुँडा) पोखरा १६ बिरौटास्थित तितेपानी जंगलबाट बरामद गरिएको एसपी कार्कीले बताए ।
उनका अनुसार उक्त खुडा शिशिरले फ्रेस हाउस सञ्चालन गर्ने क्रममा किनेका थिए । अहिले त्यही खुडा प्रयोग गरेको खुल्न आएको छ ।
पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अगाडि बढेको छ ।
प्रहरीले घटनामा अन्य मतियार वा सहयोगीको संलग्नता भए नभएको बारेमा पनि सुक्ष्म रुपमा अनुसन्धान अघि बढिसकेको कास्की प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराई र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यो घटनाको सफल अनुसन्धान गरेको हो ।
कृष्ण क्षेत्रीका जेठी श्रीमतीतर्फका छोरा हाल लागुऔषध मुद्दामा जिल्ला कारागार कार्यालय कास्कीमा थुनामा रहेको समेत प्रहरीले उल्लेख गरेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

